नेपालमा हामी विभिन्न चाडपर्वहरु मनाउँछौँ । ती विभिन्न चाडपर्वहरुमध्ये तीज एक हो । तीज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण र महान् चाड हो । नेपाली हिन्दु महिलाद्घारा स्वतन्त्र र आनन्दमय पर्वका रुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रुपले नेपालभर मनाइन्छ भने भारतका केही प्रान्तहरुमा पनि मनाइन्छ । तीज शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ र यो विशेष दिनमा शिवको आराधना गरिनुका साथै नाचगान, मनोरञ्जनसमेत गरिन्छ । तीजलाई भने हरितालिका तीज, हिरियाली तीज, आदिको नामले पनि चिनिन्छ ।
तीज पर्व मनाउनुको पछाडि के छ यस्तो रहस्य ?
हिन्दु धार्मिक ग्रन्थ अनुसार पार्वतीले आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरे पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहर व्रत बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । पार्वतीले महादेवलाई श्रीमानका रुपमा पाउन १ सय ७ औँ जन्मसम्म घोर तपस्या गरी पुरा भएको थियो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दु नारीहरुले यस दिनलाई उत्सवको रुपमा मनाउन थाले र यो तीजको रुपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ । त्यसैगरि पार्वतीले शिवको लागि राखिएको व्रत धेरै महत्वपूर्ण मानिन्छ । यो व्रतलाई हरितालिका भन्नुको अर्थ पार्वतीलाई साथीहरुले पिता र आफ्नो प्रदेशबाट हरण गरी जङ्गलमा लगेको प्रसङ्गसँग जोडिन्छ । हरितालिका शब्दमा रहेका हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमश हरण गरिकी र साथीहरु भन्ने हुन्छ ।
तीज कहिले, कसरी र किन मनाइन्छ ?
तीज भाद्र कृष्ण पक्षको तृतीया तिथिमा मनाइन्छ । यो चाड भाद्र शुक्ल द्घितीयादेखि पञ्चमीसम्म ३ दिन मनाइन्छ । तीजले मनसुनको बिदाइ र शरदको पनि स्वागत गर्दछ । तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ । यो चाडमा माइतीले छोरीचेलीलाई घरमा गइ लिएर आउने वा बोलाएर मिठा–मिठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन छ । यस दिन विशेष दर खाने गरिन्छ । यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ र दरमा ठाउँअनुसार विभिन्न मिठा–मिठा परिकार साथै खीर, सेलरोटी, केरा, ढकने लगायतका खाना, फलफुल खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाइ बस्नुपर्ने भएकाले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो ।
आफ्ना मनमा रहेका दुःख र कुण्ठाहरु गित, संगित र नाचका मार्फत अभिव्यक्त गरी रमाइलो गर्दछन् । महिलाहरुलाई व्रत बसेकै कारण दिनभरी मेलापातोबाट फुर्सद हुने तथा माइतीमा गएर रमाइलो गर्ने प्रचलन भएकोले यो पर्व विशेष रुपमा हर्ष उल्लासका साथ मनाइन्छ । तीजको दोस्रो दिनलाई व्रत बस्ने दिन भनिन्छ । हामीले यसलाई हरितालिका तीज पनि भन्न सकिन्छ । यस दिन महिलाहरुलाई नयाँ लुगा कपडा दिइन्छ । तीजमा विवाहिता महिलाहरु आफ्ना पति तथा घरपरिवारको सुख शान्तिको र दीर्घायुको कामना गर्दै व्रत बस्दछन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् भन्ने मान्यता चलिआएको छ । व्रतको समयमा महिलाहरुले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्राणब्राह्रणीलाई दान दक्षिणा गर्ने चलन छ । तीजको व्रत अन्य व्रतभन्दा फरक ढङ्गले लिइन्छ । यस दिन पानीसम्म पनि नखाइ व्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना गरी फलफूल ग्रहण गर्दछन् ।
तीजको तेस्रो वा अन्तिम दिनलाई ऋषि पञ्चमी भनिन्छ । ऋषि पञ्चमी सात ऋषिको परम्परागत पुजा हो । ती सात ऋषिहरु कश्यप, अत्री, भारद्घाज, विश्वामित्र, गौतम, वशिष्ठ आदि हुन् । ऋषि पञ्चमीको दिन पवित्र नदी, पोखरी वा अन्य पानीमा एक अनुष्ठान स्नान लिइन्छ । यस दिन भगवान गणेश, नवग्रह, सप्तऋषि र अरुन्दाथीको पूजा गरिन्छ । यस दिन महिलाहरुले भगवानलाई प्रसाद चढाँउछन्। ऋषि पञ्चमीको दिन ३६१ द्यतिवनका डाँठ टोकेर खोलामा बगाउनु, माटोले शरीरका सबै अङ्गहरु शुद्घ गर्नु, गनौती राखेर माथिबाट पानी खन्याइ छानिएको पानीले नुहाउनु र सप्तऋषिको पूजा गरेपछि महिलाहरु शुद्घ हुन्छन् भन्ने प्रचलन छ तर हिजआज महिनावारीलाई अछुतो हैन विशेष उत्सवको रुपमा मनाउन पर्छ भन्ने मान्यता पनि वस्दै गएको छ ।
अशुद्धता र पापका कुरा गर्न छाडिएको छ । आधुनिक समाजमा तीजको महत्वलाई जुनरुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी साथै माइतीको सम्झना र पवित्र सम्बन्ध सेतुका रुपमा यो पर्वको ठुलो भूमिका रहेको छ । महिलाहरु आफु जन्मेको ठाउँ, घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा तीजपर्वको गहन महत्व रहेको छ । खास गरी यसमा स्त्रीहरुले पतिको निम्ति निराहर रहेर भगवान शिव तथा दैवी शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । तीज पर्व नारीहरुको सौभाग्य र समृद्घिका निम्ति शिव र पार्वतीको उपासना र पुजा गर्ने पर्वको रुपमा लिइन्छ । यो दिनमा कतिपय महिलाहरु नजिक रहेको शिव मन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन् । काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा महिला व्रतालुहरुको स्वतन्त्रताको पर्व मानेर यस दिन सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।
लेखन : सितल लुइँटेल
कक्षा : १०