हिन्दू धर्म, दर्शन र संस्कृतिमा गुरुको स्थान सर्वोपरी रहेको छ। ज्ञान, संस्कार, धर्म र संस्कृतिको बीजारोपण गर्ने मूल आधार गुरु नै हुन्। आषाढ शुक्ल पूर्णिमाको दिन गुरुको सम्मान, पूजा र सत्कार गर्ने परम्परालाई “गुरूपूर्णिमा” भनिन्छ। यसै दिनलाई “व्यास जयन्ती”को रूपमा समेत मनाइन्छ, जसले वैदिक ज्ञानलाई चार भागमा विभाजन गरेर मानव समुदायलाई अमूल्य ज्ञान सम्पत्ति दिएका महर्षि वेदव्यासको स्मरण गरिन्छ।

गुरु शब्द ‘ग’ र ‘रु’ भन्ने दुई वर्णको योगबाट बनेको हो। ‘ग’ ले अज्ञानरूपी अन्धकार बुझाउँछ भने ‘रु’ ले ज्ञानरूपी प्रकाश। अतः जो अज्ञानको अन्धकार हटाएर ज्ञानको प्रकाश दिन्छ, त्यही गुरु हो। संस्कृतमा भनिएको छ–

“गु” कारस्त्वन्धकारः स्याद् “रु” कारस्तन्निरोधकः।
अन्धकारनिरोधित्वात् गुरु रित्यभिधीयते॥

यस श्लोकको अर्थअनुसार, गुरु त्यो महान् व्यक्तित्व हुन् जसले आत्मा भित्रको अज्ञानको अन्धकार हटाएर प्रकाश फैलाउने कार्य गर्दछन्। उनीहरू बिना जीवन अधुरो, अस्तव्यस्त र दिशाहीन हुन्छ।

गुरूपूर्णिमाको दिन महर्षि वेदव्यासको जन्म भएको विश्वास गरिन्छ। वेदव्यासले चार वेदलाई पृथक–पृथक रूपमा वर्गीकरण गरे। ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको ज्ञानलाई सजिलो बनाइ अध्ययन र प्रचार प्रसार गर्न सक्ने बनाउनु उनका महान् योगदान हुन्। त्यसैले आजको दिनलाई व्यास जयन्ती भनिन्छ र उनी गुरुहरूको आदिस्वरूप मानिन्छन्।

“व्यासाय विष्णुरूपाय व्यासरूपाय विष्णवे।
नमो वै ब्रह्मनिधये वासिष्ठाय नमो नमः॥”

यो श्लोकले महर्षि वेदव्यासको देवत्व, ज्ञान र त्यागको भावनालाई स्पष्ट रूपमा उजागर गर्दछ।

गुरुको महिमा

शास्त्रहरूमा गुरु ब्रह्मा, विष्णु र महेश्वर समान रहेका छन्। गुरु ब्रह्मा हुन् किनकि उनीहरू ज्ञानको सृष्टि गर्दछन्, विष्णु हुन् किनभने ज्ञानको रक्षा गर्दछन् र महेश्वर हुन् किनभने अज्ञान नाश गर्दछन्। त्यसैले भनिएको छ–

गुरुर्ब्रह्मा गुरूर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः॥

यस श्लोकले गुरुको स्थानलाई साक्षात् परब्रह्मको रूपमा चित्रण गरेको छ।

गुरु केवल शैक्षिक संस्था वा वेदशास्त्रका ज्ञाता मात्र होइनन्। जीवनका सबै आयामहरूमा मार्गदर्शन गर्ने, आत्मज्ञानको बाटो देखाउने, नैतिकता, अनुशासन र विवेक प्रदान गर्ने व्यक्तिलाई पनि गुरु मानिन्छ। जसरी सूर्य बिना प्रकृति अन्धकार हुन्छ, त्यसैगरी गुरु बिना मानव जीवन अधुरो हुन्छ। गुरु जीवनका आदर्श हुन्। आध्यात्मिक सन्दर्भमा त—

“दीयते परमः सिद्धिः क्षीयते कर्मवासनाः।
आप्यते परमं धाम तेन दीक्षा स्मृता शिवे॥”

यो श्लोक भगवान् शिवले पार्वतीलाई ज्ञान दिँदै भन्नुभएको हो कि गुरुद्वारा प्राप्त दीक्षाबाट कर्मवासनाको क्षय भएर परमसिद्धि प्राप्त हुन्छ।

आजको युगमा पनि गुरुको भूमिका अपरिहार्य छ। शिक्षा, संस्कृति, सीप र जीवन मूल्यहरू सिकाउने प्रत्येक व्यक्तिमा गुरुत्व रहेको हुन्छ। अहिले कहिलेकाहीँ ‘गुरु’ शब्दको प्रयोग सामान्यतया गाडी चालकजस्ता पेशामा पनि हुने गर्छ। कतिपयलाई यो अपमानजनक लाग्न सक्छ, तर यदी सोच्ने हो भने ती गाडी चालकले सयौं यात्रुको जीवनको जिम्मा बोकेका हुन्छन्। यसर्थ, ‘गुरु’ भन्ने शब्द जिम्मेवारी, नेतृत्व र मार्गदर्शन जनाउने शब्द हो।

गुरु मानव जीवनका आधारशिला हुन्। उनीहरूको कृपा विना ज्ञान प्राप्त गर्न सकिन्न। जुनसुकै ज्ञान, सीप, कला र दर्शन होस्, त्यसको सुरुवात गुरुबाट हुन्छ। व्यास जयन्तीको दिन हामीले ज्ञानका आदि स्रोतलाई सम्झनु, आदर गर्नु र श्रद्धा अर्पण गर्नु सबैका लागि पुण्यको कार्य हो।

Tej Bahadur Katuwal

 

 

 

तेज बहादुर कटुवाल

Share via
Copy link