जनै पूर्णिमा, श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने महत्त्वपूर्ण हिन्दु पर्व हो। यस दिन जनै अर्थात् यज्ञोपवित फेर्ने र ऋषि तर्पण गर्ने चलन छ। यस दिन पुरानो जनै फालेर नयाँ जनै धारणा गरिन्छ, जसलाई शुद्धता, धर्म, र ज्ञानको प्रतिक मानिन्छ। पितृ‌लाई तर्पण दिनु पनि यस दिनको महत्त्वपूर्ण भाग हो।

जनै फेर्ने परम्पराले आत्माको शुद्धता, नवीनता, र धार्मिक उत्तरदायित्वको प्रतीकात्मक अर्थ बोकेको छ। यसै दिन रक्षा बन्धनको परम्परासमेत जोडिएको छ, जहाँ दिदी बहिनीहरूले आफ्ना दाजुभाइलाई रक्षा सूत्र बाँधेर उनीहरूको दीर्घायु, स्वास्थ्य, र सुरक्षाको कामना गर्दछन्। रक्षा बन्धनले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने काम गर्दछ। विशेष गरी पहाडी र हिमाली क्षेत्रमा यो पर्वलाई नदी वा तलाउमा स्नान गरी पवित्रता हासिल गर्ने अवसरका रूपमा मनाइन्छ। जनै फेरेपछि पूजा, तर्पण, र रक्षा बन्धनको प्रक्रिया सुरु हुन्छ। बौद्ध धर्मावलम्बीहरू पनि यस दिन पवित्र तीर्थस्थलमा मेला भर्न जाने प्रचलन छ।

जनै पूर्णिमा पर्वले नेपाली समाजमा धार्मिक, सामाजिक, र सांस्कृतिक महत्त्व बोकेको छ। यस पर्वले परम्परागत मूल्यमान्यताहरूलाई जोगाउँदै परिवार, समाज, र राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने काम गर्दछ। कृषक वर्गका लागि यो पर्व विशेष महत्त्वपूर्ण मानिन्छ, र नेवारी समुदायमा यो पर्व गुंपुन्हीको रूपमा मनाइन्छ। यो पर्व विभिन्न समुदायहरूलाई एकतामा बाँध्ने एउटा प्रमुख चाड हो।

अन्त्यमा, जनै पूर्णिमा भगवान् विष्णुको पूजा गर्न विशेष दिन हो। यस दिन भगवान् सत्यानारायणको पूजा गरी व्रत बस्दा मानसिक तनाव, चिन्ता, र डिप्रेसनबाट मुक्ति पाइने विश्वास गरिन्छ। यस दिन हिन्दु पुरुषहरूले आफ्नो जनै नवीकरण गरी शिव मन्दिरमा जाने परम्परा पनि रहेको छ। यसरी, जनै पूर्णिमा केवल हिन्दु धर्मका लागि मात्र नभई सम्पूर्ण नेपाली समाजको लागि विशेष महत्त्वपूर्ण पर्व हो।

विवेक कपाडी  (कक्षा: १०)

Share via
Copy link