मेरो देशको नाउँ नेपाल हो । यो मेरो देश विश्वका सात महादेशमध्ये एसिया महादेशमा पर्दछ । एसियाका दुई ठूला देश भारत र चीनका बीचमा मेरो देश नेपाल रहेको छ । यसको पूर्व पश्चिम र दक्षिणमा भारत देश पर्दछ भने उत्तरमा चीन देश पर्दछ । यसरी तीनतिरबाट भारत र एकातिरबाट चीनले घेरिदिएकाले मेरो देशले समुद्रलाई छुने बाटो पाएको छैन । त्यसैले मेरो देश विश्वमै एक भूपरिवेष्ठित देशका रुपमा चिनिन्छ । मेरो देश विश्वका साना देशहरु मध्येको एउटा हो । तापनि यसको नाम विश्वभरि नै फैलिएको छ । जलसम्पदाका हिसाबले मेरो देश विश्वमै ब्राजिलपछि दोस्रो जलधनी देश र एसिया महादेशमा पहिलो जलधनी देशका रुपमा चिनिन्छ । आफ्ना काखमा रहेका असङ्ख्य नदीनाला हिमश्रृंखला वनजङ्गल जस्ता प्राकृतिक सम्पति र पुराना जमानाका सुन्दर कलाकृतिहरुले पनि भरिएको मेरो देश विश्वमै एक अनौठो र आफ्नै प्रकारका विशेषता भएको रमाइलो देश बन्न पुगेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा मेरै देशमा पर्दछ र यसले पनि मेरो देशलाई विश्वकै शिखर बनाइदिएको छ । विश्वमा मेरो देश सगरमाथाको देशका नामले समेत चिनिन्छ । त्यसै गरी विश्वका कुनाकुनामा शान्तिको सन्देश छरी अमर बन्न पुगेका शान्तिका अग्रदूत गौतम बुद्धपनि मेरै देशको लुम्बिनीमा जन्मेका हुन् । उनका शान्ति सन्देशले पनि मेरो देशलाई विश्वमा शान्तिक्षेत्रका रुपमा चिनाएको छ । हावापानीको स्वच्छता र सामाजिक सांस्कृतिक तथा जातीय विविधताले गर्दा पनि मेरो देश विश्वमा प्रसिद्ध नै छ । यस देशलाई सबैले आफ्नो साझा फूलबारी मानेका छन् र सबैले यसको हेरचाह पनि गरेकै छन् । यो हामी सबै नेपालीको प्यारो देश हो । यसलाई हामीले आफ्नो प्राणभन्दा प्यारो ठानेका छौँ । यसको गौरव हामी सबैको गौरव हो । विश्वमा नेपाललाई चिन्नेले हामी नेपालीलाई पनि चिन्दछ । यस देशले आफूलाई विश्वमा चिनाउने  सामर्थ्य पनि राखेको छ । त्यसैले म मेरो देश नेपाललाई ज्यादै माया गर्दछु । नेपाली भइ जन्मेकोमा गौरव गर्दछु ।

 

मेनुका रापल

कक्षा : सात,  बि.सं. २०७६

Share via
Copy link