असार १५ गते धान दिवस हो । अन्य दिवस झै धान दिवस पनि धुमधामका साथ मनाइन्छ । नेपाल एक कृषि प्रधान देश भएकाले यस दिवसको नेपालमा धेरै महत्व छ । यस दिवसले धान रोपार्इँ सुरु हुने सङ्केत गर्दछ । यस दिनलाई धान दिवस र दही चिउरा खाने दिन पनि भनिन्छ ।
पहिला पहिला असार १५ गते गाँउघरमा बेठी लगाएर धान रोप्ने चलन थियो । गाँउभरि सबै मिलेर एक जनाको खेतमा धान रोप्ने चलन थियो । असार १५ उत्सव झैँ मनाइन्थ्यो । असारे गीतको भाकामा गाँउनै गुञ्जिनथ्यो । धेरै खेती हुनेहरुले असार १५का दिन बाजागाजाकासाथ धान रोप्ने चलन थियो । त्यसो त असार महिनालाई माना रोपेर मुरी उब्जाउने महिनाको रुपमा लिइन्छ । यो महिनामा पानी पर्ने भएकाले किसानले सबैतिर रोपाइँ गरेका हुन्छन् आकाशे पानीको भरमा रोप्नु पर्ने खेत पनि असारमा रोपिन्छ ।
असार महिनामा गाइने गीतहरुले साहित्यिक महत्व बोकेको छ । कृषकहरु यस महिनामा अति व्यस्त भए तापनि लोक भाकामा गीत गाउने, उखान तुक्काहरु भन्दै, एक आपसमा सहयोग गर्दै खेती पाती गर्दछन् ।
असार १५ असार महिनाको मध्यममा भएकाले यस दिन दही, चिउरा, आँप जस्ता मिष्ठान्न भोजन सहित धान दिवस मनाइन्छ । हरेक वर्ष धान दिवस मनाउनुको आफ्नै महत्व छ । धान दिवसमा २ वटा कुरालाई मुख्य केन्द्र बनाइएको छ । एउटा कृषिमा आधुनिकिकरण र अर्को खाद्यान्न आयातमा न्युनीकरण । यसरी नेपाल सरकारबाट धान दिवस घोषणा गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दा कृषि विकासमा ध्यान केन्द्रित गरिएको हुन्छ ।
यो वर्ष १९औँ राष्ट्रिय धान दिवस हो । धान उत्पादन वृद्धि गर्न कृषि मन्त्रालयले विभिन्न कार्यक्रम राखेको हुन्छ । गाँउघरमा बाध्यताले धान रोपाई हुन्छ भने सहर बजारमा रमाइलोको लागि मनाइन्छ । त्यसैले धान दिवस नेपाल जस्तो एक कृषि प्रधान देशका लागि महत्वपूर्ण छ ।

इमोनिका राई
कक्षा– १०

Share via
Copy link