हाम्रो पृथ्वी सौर्य परिवार भित्रको एक सदस्य हो । हामीलाई पृथ्वी धेरै ठूलो छ भन्ने लाग्छ । विश्वकै सबैभन्दा द्रुत गतिमा दौडने रेललाई पनि यसको एक छेउबाट अर्को छेउमा पुग्न महिनौँ लाग्छ । हाम्रो पृथ्वीको बनावट अचम्मको छ । हाम्रो पृथ्वी सूर्यबाट उछिट्टिएको एक सानो भाग हो । यो पनि सुरुमा सूर्यको एक सानो अंश भएकाले बिस्तारै वायु मण्डलीय वातावरणले गर्दा सेलाउँदै गयो । पृथ्वी तातो भएकोले त्यस बेला यहाँ कुनै पनि जीवित प्राणीहरुको अस्तित्व सम्भव थिएन । बिस्तारै पृथ्वी चिसियो र वायु मण्डलमा रहेको वाष्प तरल पदार्थमा परिणत भयो । जब पृथ्वी पूर्ण रुपमा चिसियो, तब यो सजीव प्राणीहरुका लागि बस्न योग्य ठाँउ भयो ।
पृथ्वीमा सजीव र निर्जीव दुई आधारभूत तत्वहरु मिली वातावरण बनेको हुन्छ । पृथ्वीका सम्पूर्ण प्राणी, वनस्पतिहरु, हावा, पानी यी तत्वका रुपमा चिनिन्छन् । वातावरणीय तत्वहरुको समानुपातिक संरचनाका आधारमा पृथ्वीको वातावरणलाई, जल, स्थल र वायु गरी प्रमुख तीन भागमा वर्गिकरण गरिएको हुन्छ । जलीय वातावरण, त्यस्तो वातावरण हो जहाँ पानीको मात्रा बढी हुन्छ । त्यसै गरी वायु वातावरण भनेको चाँहि त्यस्तो वातावरण हो जसमा हावाको मात्रा बढी हुन्छ । त्यस्तै स्थल वातावरण हामी बसेकै ठाँउको वातावरण हो । स्थलीय वातावरणमा सिर्जित स्थलीय पारिस्थितिक प्रणाली मौसमी र भौगोलिक तत्वहरुबाट प्रभावित हुन्छ । यिनै तत्वहरुबाट प्रभावित भई विभिन्न प्रकारका ससाना स्थलीय वातावरणको सिर्जना हुन्छ । त्यसैले पृथ्वीमा भएको सुन्दर वातावरणको संरक्षण गर्नु हामी मानिसहरुको कर्तव्य हो ।
पृथ्वीले आफ्नो कक्षमा गर्ने सूर्यको परिक्रमाले गर्दा यो कहिले उत्तरी कर्कट रेखातर्फ र कहिले दक्षिणी मकर रेखातर्फ नजिक हुने गर्दछ, जसका कारण पृथ्वी कहिले सूर्यको नजिक र कहिले टाढा हुने गर्दछ । यसैको परिणाम स्वरुप साधारणतः पृथ्वीमा विभिन्न ऋतुका साथै हावापानीमा समेत परिवर्तन भइ रहन्छ, वायु मण्डलमा रहेका कार्वनडाइअक्साइड सहित अन्य हरित गृह प्रभाव अनुरुप ग्याँसहरुको परिणाम बढ्नाले नै हावापानी परिवर्तन हुन्छ । मिथेन, नाइट्रस, अक्साइड, ओजोन ग्याँसहरुले पनि पृथ्वी तताउने काममा प्रमुख भूमिका खेलेका हुन्छन् । यिनै थुप्रिएका ग्याँसहरुले वायु मण्डललाई तताइ हावापानीमा परिवर्तन गराउँछन् ।
पृथ्वीको तापक्रम बढ्दा हिउँ पग्लिने छ । यस हिउँ पग्लेको पानी सागर महासागरमा थपिन जानेछ र सामुद्रिक पानीको सतह बढ्नेछ । यसबाट सामुद्रिक तटका जमिनहरु जस्तैः एसियाको बंगालको खाडी, अफ्रिकाको नाइल नदीको खेती योग्य भूमि आदि डुब्ने छन् । साथै माल्दिभ्सजस्ता ससाना टापु भएका देशहरुको अस्तित्व नै समाप्त हुनेछ । जीवहरु तपक्रमसित निकै सम्बन्धित हुन्छन् । तापक्रम घट्ने तथा बढ्ने क्रमको जीवहरुको भौतिक प्रक्रियामा पनि पर्दछ । वर्तमान विश्वको हावापानी परिवर्तनबाट जीवहरुमा पर्न सक्ने नकारात्मक प्रभावहरु कर्म गर्नु आजको प्रमुख आवश्यकता हो । त्यसैले विभिन्न कल कारखाना तथा यातायातका साधनहरुमा कार्बनडाइअक्साइड निस्कासित हुने पदार्थको प्रयोग कम गर्न जन चेतना बढाउनु पर्दछ । विश्वको वर्तमान वातावरणीय समस्या कम गराउन निरन्तर रुपमा लागि रहनु पर्दछ । अनि मात्र पृथ्वीको तापक्रम बढ्दैन र विभिन्न समस्याहरु देखा पर्दैनन् ।
ओजन अक्सिजन परमाणुका बहुरुपीय अवस्था मध्ये यो एक हो । समुद्र सतहदेखि करिब २५ कि.मि. को उचाइमा यसको अधिकतम मात्रा हुने हुँदा त्यहाँ यसको एउटा घेरा बनेको हुन्छ । यस घेराले सौर्य विकिरणलाई अत्याधिक अवशोषित गर्दछ र परावैजनीकिरण पृथ्वीमा आइ पुग्न पाउँदैन । यसले वायु मण्डलमाथि बिच्छ्याइएको एउटा कम्बलको जस्तो काम गरी पृथ्वीलाई बचाउँदछ । वायु मण्डलमा निरन्तर रुपमा मिल्काइने गरेको यौगिकहरुमध्ये ओजोनको तहलाई च्यात्ने काममा सक्र्रिय भुमिका खेल्ने वस्तुचाँहि क्लोरोफ्लोरो कार्बन हो । यस ग्याँसलाई प्रशीतनका अतिरिक्त रङ रोगन तथा किटनाशक कार्यका रुपमा प्रयोग गरिन्छ । जसले गर्दा पृथ्वीको माथिल्लो वायु मण्डलको ओजोन तह विनाश भएको छ । यसै कारण हामीले (सि.एफ.सी.) को प्रयोग गर्नु हँुदैन किनभने यसले पृथ्वीलाई असर गर्दछ ।
वायुमण्डलका नजिक रहेको पृथ्वीको सतह दिउँसो तात्ने र साँझ बिस्तारै सेलाउनु निरन्तर प्रक्रिया हो । पृथ्वीको सतह वायु मण्डलको तल्लो तहमा सूर्यबाट आएको विभिन्न विकिरण जम्मा हुन्छन् । यिनै विकिरणका कारण पृथ्वीको सतह तात्ने र चिसिने कार्य भई पृथ्वीको जीव मण्डलमा विभिन्न असर देखा पर्दछन् । यसै गरी थुप्रिएका विकिरणहरुले वायु मण्डलमा पार्ने विभिन्न असर नै हरित गृह प्रभावका रुपमा देखिन्छन् । यो निरन्तर रुपमा चलिरहने प्रक्रिया हो । यसलाई पृथ्वी तात्ने प्रक्रिया पनि भनिन्छ ।
औद्योगिकीकरण नै हरित गृह ग्याँसको प्रमुख स्रोत हो । हरित गृह प्रभावले पृथ्वीको सतह र वायु मण्डल प्रायः तातो हुन्छ । यसको अतिरिक्त खडेरी पर्ने, जलचक्रमा परिवर्तन हुने, वन जङ्गलमा डढेलो लाग्ने, आँधी चल्ने, वनस्पति तथा जीवजन्तुहरुका वासस्थानको विनाश हुने क्रम बढी जीवजन्तु र तिनका प्रजातिको तीब्र गतिमा लोप हुने जस्ता दुष्परिणामहरु देखा पर्ने छन् । यिनै कारण पृथ्वीको मौसममा ठुलो सङ्कट देखा पर्छ र जैविक विविधतामा पनि ह्रास आउने गरी यसरी नै हरित गृह ग्याँसको प्रयोग भइ राख्यो भने पृथ्वीमा भएका वस्तुहरुमा नकारात्मक प्रभाव पर्छ र जीव जन्तुलाई पनि बाँच्नको लागि गाह्रो हुन्छ ।
औद्योगिक कल कारखानको प्रयोग तथा कृषिका आधुनिक निर्माणमा कोइला तथा पेट्रोलियम जस्ता जैविक पदार्थ तथा कार्वनमा आधारित उर्जाको प्रयोगमा सीमितमा ल्याउनु नै वायु मण्डलमा रहेको कार्बनडाइअक्साइडको मात्रा घटाउने प्रमुख उपायहरु हुन् । यी बाहेक वन जङ्गलको संरक्षण गर्नुका साथै नाङ्गा डाँडाहरुमा वृक्षारोपण गरी वायु मण्डलमा रहेको कार्बनडाइअक्साइडलाई प्रकाश संश्लेषणमा प्रयोग गर्ने पनि अर्को सम्भावित उपाय हो ।
पृथ्वी भनेको हाम्रो घर हो । पृथ्वी मात्र एउटा यस्तो ठाँउ हो, जहाँ मानिस तथा अन्य वस्तुहरु बाँच्न सक्दछन् । पृथ्वीमा भएको हावापानीले मानिसहरु बाँच्न सक्दछन् । हामी मानिसहरुले पृथ्वीलाई बचाउन विभिन्न कार्यक्रमहरु गर्नुपर्दछ । मानिसहरुलाई सचेत गराउनुपर्दछ । विश्व पृथ्वी दिवसर हरेक वर्ष अप्रिल २२ गते मनाइन्छ । यस दिवसका माध्यमबाट मानिसहरुले पृथ्वीको महत्वबारे बुझ्ने मौका पाएका हुन्छन् । अब पृथ्वीको अस्तित्वसँग सम्पूर्ण जीव स्वयम् मानव जातिको अस्तित्व गाँसिएको सत्यबाट नभागौ । प्रकृतितर्फ फर्कौँ ।
सितल लुइँटेल
कक्षाः ९