नव वर्ष २०७७
तिमीलाई स्वागत छ !

तिमी आयौ आयौ ?

नव युगको फरक चेत बोक्ने
तिमीलाई स्वागत छ !

हरेक वर्ष पुरानो क्यालेन्डर च्यातेर
नयाँ पाना पल्टाउँदा
नयाँ पानाहरुसँगै थुप्रै
अवसर र आशाहरु
झोलामा बोकेर आउने
नव वर्ष तिमीलाई स्वागत छ !

लाग्छ यी वर्षहरु किताबका
नयाँ पानाहरु हुन्
ती अध्यायहरु
पढ्न पल्टाउन
लेख्न बाँकी
कापीका सादा पानाहरु जस्तै
नव वर्ष तिमीलाई स्वागत छ !

जीवनका रङ्गीन सपना
जीवनका उज्याला बिपना
अन्धकार नाशक
दीप बनेर आऊ
जीवन सङ्ग्रामका
रहस्य बोकेर आऊ
नव वर्ष तिमीलाई स्वागत छ !

चीनमा बिजारोपित कोरोना
फ्रान्स, इटाली , अमेरिका विकसित
सुन्दर सहरहरु
भस्म खरानी भएको
पुरानो खबर होइन
स्वस्थ भएको
नयाँ खबर बोकेर आऊ
नव वर्ष तिमीलाई स्वागत छ !

अभिमान , बेइमान र
स्वार्थ त्यागेर आऊ
दुराचार अनाचार
छोडेर आऊ
कालोबजारी र सिन्डिकेट तोडेर आऊ
दुर्जनहरुलाई सदाका लागि छोडेर आऊ
नव वर्ष तिमीलाई स्वागत छ !

चलिरहेको अङ्ग्रेजी वर्षको
आँगनमा आएको
नव वर्ष !
तिमीले मानवताको
नयाँ परिभाषा खोज्न
घच्घचायौ , बिउझायौ
अणु परमाणुसँग होइन
जीवाणुसँग लड्न सिकायौ
नयाँ वर्ष !

मलाई थाहा छ !
मानवले धर्म छोड्दा ,
कर्तव्य बिर्सदा ,
अभिमान र शेखी गर्दा
दानव बन्न लाग्दा ,
दुनियाँलाई सिध्याउन खोज्दा
तिमी आउँछौ , जरुर आउँछौ
उचित दण्ड दिन
हो नव वर्ष !
मैले सिकेको पाठ !

जीवन र जगतले गरेको
नयाँ अपेक्षा
नयाँ सोच र योजना
समाज अनि देश सिगार्ने
सुमधुर धुनको सर्जक
हिमालझै हाँसी
सुख र सम्वृद्धिको उपहार ल्याउने
नव वर्ष !
तिमीलाई स्वागत छ !

तारा पाण्डे
गोल्डेन पिक हाइ स्कुलका शिक्षक तथा
उप प्राध्यापक
पशुपति बहुमुखी क्याम्पस, चावहिल ।

Share via
Copy link