२०७७ वैशाख १ गते सोमबार ।

परम्परा धानेर यतिका समय बिताइएछ । मिनेट, घण्टा, दिन र हप्ताहरु बितेछन् । महिना र वर्षहरु बितेछन् । दशकहरु बितेछन् । रजत र स्वर्णहरु बितेछन् । हिरक र शताब्दीसमेत बितेछन् । यो क्रम निरन्तर चलेकै थियो । हाम्रो भने भूतो न भविष्यति । चुनौतिका पर्खाल नाघ्दै अहिले खडा छु । उसले यसको अनुभूति गरेकै थिएन । जतिबेला अभाव खड्केको थियो सम्झियो । साँघु तरेपछि बाटो बिरायो । नदी तरेर लठ्ठी फालेको पनि सम्झना आयो उसलाई । हर्कवीर, धने र लाक्पा पनि त्यतिबेलाको उसका साथी थिए । यिनीहरु पनि गम्भीरमान झैं बिलखबन्दमा परेका थिए । उसमा सफल बन्नै पर्ने चुनौति थियो । कस्तो सफल ? उच्च उपलब्धि हासिल गर्ने । उच्च नतिजाका साथ चिनिने । असल र सफल बन्ने । सिप भएको दक्ष बन्ने । विद्यालयपछि कलेजमा के विषय लिने ? कहाँ पुुग्ने ? कसरी जाने ? अनेकौं चुनौति ।

समस्या र अप्ठ्याराहरुलाई थाती राखेँ । जीवनको पहिलो चुनौति मै हारियो सायद् । यसपछि अवसर बाँकी रहने अवस्था नै रहेन । साधारण घरायसी जीवन बिताउन पनि गाह्रो भो । उच्च जीवनको ढोका पनि खुलेन । जञ्जालमा फसेपछि उत्कृष्ट बन्ने सबै संभावनाका ढोकाहरु पनि बन्द भए । जागिर पाउँ न भनेर कोसंग माग्ने ? अब स्तरीय जीवनशैलीको आवश्यक्ता छ । आरामदायी गाडी पनि त चाहियो नि ? के अब यी मेरा आधारभूत आवश्यक्ता होइनन् र ? तर खै कसरी प्राप्त होलान् र यी ? गम्भीरमान सोचिरहेको थियो एक टक अडिएर । उसले पढेको विषयले घरको चुल्हो बलेन । जागिर र व्यापार झन् बोझिला भए । नियुक्ति पदोन्नति उसका लागि आकाशको फल अाँखा तरी मर झैं थिए । असंभावनाभित्र पनि ऊ संभावनाको बाटोमा लाग्ने निष्कर्षमा पुग्यो ।

दिलमाया ? दिलमाया ? कता लाग्यौ हँ ? श्रीमतीको जवाफ थियो, हजुर किन ? उसको जवाफ थियो , म अब निस्कें । केही लिएरमात्र फर्कने छु । घरको हेरचाह गरेस् । सबै विचार गरेर बसेस् । दिलमायाले जवाफ फर्काउँदा ऊ अलप भइसकेको थियो । उसले भन्यो म सहर पसेँ । राजनीतिमा लाग्ने आधार पनि सहर पसेपछिमात्र थाहा पाएँ । विचौलिया भएँ । तल र माथिका बिच संयोजन मिलाउने काम गरेँ। सबैे कामका विधि सेटिङ् रहेछन् भन्ने त्यसपछि मात्र थाहा भयो । म सबैको अनिवार्य भइसकेको थिएँ । बोली बिक्न थाल्यो । ठेककापट्टा मिल्दै गए । विधिमा कामले गति लियो । समस्याहरु किनारीकृत हुन थाले । नुनदेखि सुन किन्नेसम्मका टेण्डर मेरा परे । पाटीमा कसलाई कहाँ कस्तो जिम्मेवारी दिने ? को को त्यहाँ लानेसम्मका योजनाको नायक थिएँ ।

अब मेरा कुरा राजनीतिक दलका नेत्तृत्वमा बस्नेहरुले नै भन्न थालिसकेका थिए । म धन, मान, सम्मानले अग्लो भइसकेकै बेलामा विडम्वना ! सबै मेरा सपना चकनाचुर भए । देशमा गणतन्त्र आयो । आज मैले एउटा गतिलो पाठ सिकेँ । आफू सक्षम नभईकन कतै पनि बहकिन हुदैन । म अहिले घरको न घाटको भएको छु । गम्भीरमान पहिलो पटक होसमा आयो । ऊ अहिले अरुलाई सल्लाह दिन्छ । सबै संघ संस्थामा हुने सिन्डीकेटको विरोध गर्छ । सबैलाई सहभागी बन्न प्रेरित गर्छ । आडम्वरीहरुको मखुण्डो उतार्छ । सिसवा वनमा ऊ अहिले आदर्श बनेको छ । सिसवा वन उसको नयाँ गाउँपालिका हो । नयाँ नमूना गाउँ निर्माण अभियानमा ऊ लागेको छ । ऊ आफ्नो गाउँमा सेटिङ् हुन नदिने योजनामा छ । विकास गर्दै गर्दा जापान अमेरिका जस्ता देशहरुले जस्तो अनुशासन पालना गर्ने उद्घोष गरेको छ । अब हाम्रो गाउँ पनि सिसवा वन गाउँ हो । हाम्रो नक्सा मै नभएको सिसवा वन गाउँ । द्रष्टव्य (कल्पना गरिएको यो गाउँ ७५४ औं स्थानीय तह हो)

डा. गणेश राज अधिकारी
शिक्षाविद् एवम् साहित्यकार तथा
गोल्डेन पिक हाइ स्कुलका सल्लाहकार |

Share via
Copy link