हरेक वर्ष असार १५ गते नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ। नेपाल एक कृषिप्रधान राष्ट्र हो। यहाँको झण्डै ५० प्रतिशत जनसंख्या कृषि पेशामा संलग्न छ। धान नेपालको मुख्य बाली हो, जुन खाद्य सुरक्षाको मेरुदण्ड मानिन्छ। वर्षभरको खाध्य भण्डारण धानमा आधारित हुन्छ। असार महिना विशेषगरी धान रोपाइँको लागि अत्यन्त उपयुक्त मानिन्छ। त्यसैले असार १५ लाई ‘धान रोपाइँको उत्सव’ पनि भन्ने गरिन्छ।
असार लागेसँगै आकाशमा बादल मडारिन्छन्, पानी धारे वर्षा हुन थाल्छ। खेतको माटो भिजेर हिलोमा परिणत हुन्छ र यही हिलोमा किसानहरू छुपुछुपु गर्दै धानका बिरुवा रोप्न खेत पस्याउँछन्। खेतमा पस्दा चप्पल खोलिन्छ, हिलो र पानीसँग घुलमिल हुँदै उनीहरूले श्रमको उत्सव मनाउँछन्। यो दिन किसानहरूका अनुहारमा पसिना मात्र होइन, आशा र मेहनतको चमक देखिन्छ।
यस अवसरमा कृषकलाई खेतमै खाजा पुर्याउने चलन छ। तराईतिर यो खाजालाई ‘जलखाई’ भनिन्छ, जसमा गहुँको पिठोको मोटो रोटी, नुन, तेल, खुर्सानीको अचार जस्ता परिकार राखिन्छ। खेतको मालिक पनि रोपाइँमा सहभागी भएमा उनलाई हिलाले छ्यापेर रमाइलो गर्ने चलनले सहकार्य र सद्भाव प्रकट गर्छ।
पश्चिम नेपालतिर, असार १५ मा तयार पारिने परिकारलाई ‘पोवा’ भनिन्छ। यो चामलको पिठोबाट बनाइन्छ र घिउमा पकाइन्छ। पोवा पकाउँदा सानो आगोमा ढाकेर विस्तारै पाक्ने परम्परा छ, जसले यसको स्वादलाई विशेष बनाउँछ।
असार १५ लाई ‘दहीचिउरा खाने दिन’ पनि भनिन्छ। घरमा पालिएको गाई वा भैंसीको ताजा दूधबाट जमाइएको दही र ढिकी वा ओखलमा कुटिएको चिउरा विशेष गरी यस दिनको मुख्य परिकार मानिन्छ। चिउरामा आँप, नुन, मसला वा अचार मिसाएर खाँदा स्वाद मात्र होइन, त्यसमा कृषिप्रतिको सम्मान र आफ्नो परम्पराबाट प्रेम प्रकट हुन्छ।
असारे झरी केवल धान रोप्नको लागि नभई, हाम्रो जीवनका दुखःकष्ट बगाउने प्रतीक पनि होस् भन्ने भावना यस चाडमा जोडिन्छ। एक अर्कामा सद्भाव, माया, सहयोग र समझदारीको बीउ रोपौं। छाना टप्काउने थोपाहरू मायाको संगीत बनून्। परिश्रमले अंकुरिएको सपना फल्ने जमिन यही होस्।
॥ दहीचिउरा खाने दिनको हार्दिक शुभकामना !!
— नेपाली विभाग, गोल्डेन पिक स्कूल