नेपाल विविध जलवायु, भौगोलिक क्षेत्र र सांस्कृतिक सम्पदाले भरिएको कृषि प्रधान देश हो। यहाँका पहाडी तथा हिमाली भू–भागहरूमा उत्पादन हुने कोदोजस्ता परम्परागत बालीहरूले जनजीवनसँग गहिरो सम्बन्ध राखेका छन्। पछिल्लो समय आधुनिकता र सुविधा खोजीको दौडमा परेका यस्ता बालीहरू संकटमा परेका छन्। यिनै संकटबाट जोगाउन, पोषणयुक्त आहारप्रति चेतना बढाउन र किसानको जीवनस्तर उकास्न सरकारले साउन १६ गते “राष्ट्रिय कोदो दिवस” मनाउने निर्णय गरेको छ। यो केवल परम्परागत खेतीको सम्मान मात्र नभएर दिगो विकास, पोषण सुरक्षा र आत्मनिर्भर अर्थतन्त्रतर्फ डोर्याउने अभियान पनि हो।
१. कोदोको महत्व: पोषण, परम्परा र उत्पादनको शक्ति
कोदो नेपाली पहाडका घर–घरमा रोपिने र पाक्ने अन्न हो। यो पचाउन सजिलो, पोषिलो र रोग प्रतिरोधात्मक गुणले भरिएको अन्न बाली हो। कोदोलाई ‘गरीबको खाना’ भनेर हेपिने गरिए पनि आज विज्ञानले यसको औषधीय र पौष्टिक मूल्य ठूला देशहरूमा प्रमाणित गरिसकेको छ। यसमा पाइने फाइबर, प्रोटिन, आइरन, क्याल्सियम, म्याग्नेसियम आदि तत्वहरूले मानव शरीरलाई बलियो र रोगप्रतिरोधी बनाउँछ।
नेपालका ग्रामीण भेगमा आज पनि कोदो प्रमुख खाद्य स्रोत हो। यसबाट ढिँडो, धाँडो, कोदोको रोटी, रक्सी, पिठो लगायत थुप्रै परिकार तयार गरिन्छ। कोदोको बाली पहाडी र कमजोर भू–भागमा पनि राम्रो उत्पादन दिन्छ, जसले किसानलाई सस्तो लागतमा उच्च प्रतिफल दिन सक्छ। खेतीमा कम मल र विषादीको प्रयोग हुने भएकाले वातावरणमैत्री पनि हुन्छ।
२. राष्ट्रिय कोदो दिवस मनाउनुपर्ने कारणहरू
नेपाल सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गर्नुका पछाडि विविध उद्देश्यहरू छन्:
१. आयातमा निर्भरता घटाउने — हाल नेपालले करोडौं रुपैयाँ बराबरको कोदोजस्ता अन्न विदेशबाट आयात गरिरहेको छ। आफ्नै देशमा उत्पादन गर्ने सम्भावना हुँदा पनि आयात गर्नु विवेकशील होइन।
२. साना किसानको आयवृद्धि — कोदो खेती साना तथा सीमित जमिन भएका किसानहरूका लागि उपयुक्त छ। यसले उनीहरूलाई सस्तो, सुरक्षित र दीगो आम्दानीको स्रोत प्रदान गर्न सक्छ।
३. खाद्य तथा पोषण सुरक्षा — शुद्ध, जैविक र पौष्टिक खाना सुनिश्चित गर्न कोदोको प्रयोग बढाउनुपर्छ। विशेष गरी बालबालिका, महिला, वृद्धवृद्धाको पोषणका लागि यो आवश्यक छ।
४. जलवायु परिवर्तन अनुकूल बाली — कोदो कम पानीमा पनि उब्जन्छ, उराठ भूमिमा उत्पादन दिन्छ र रासायनिक मलको आवश्यकता कम हुन्छ। यसले हरितगृह ग्यास उत्सर्जन घटाएर वातावरण संरक्षणमा मद्दत गर्छ।
५. परम्परागत ज्ञानको संरक्षण — कोदो हाम्रो संस्कृति, रीतिरिवाज र परम्पराको अभिन्न अंश हो। यस्ता बालीहरूको संरक्षणले हाम्रो मौलिकता जोगाउँछ।
३. संरक्षण, विकास र आयआर्जनसँग जोड्ने उपायहरू
राष्ट्रिय कोदो दिवस केवल एक दिनको उत्सव नभई दीर्घकालीन कार्ययोजना कार्यान्वयनको सुरुवात हुनुपर्छ। त्यसका लागि निम्न उपायहरू प्रभावकारी हुन सक्छन्:
१. बिज्ञान र प्रविधिको प्रयोग — उन्नत बीउ, कृषक तालिम, आधुनिक यन्त्र र वैज्ञानिक प्रविधिको प्रयोगमार्फत उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न सकिन्छ।
२. कोदोजात परिकारमा नवप्रवर्तन — कोदोलाई केवल ढिँडोसम्म सीमित नराखी, कुकीज, हलुवा, पाउरोटी, सूपजस्ता परिकार निर्माण गरी बजारिकरण गर्न सकिन्छ।
३. ब्रान्डिङ र बजार प्रबर्धन — ‘नेपाल ब्रान्ड’ को रूपमा कोदोलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्नुपर्छ। पर्यटनसँग जोडेर कोदोका परिकारलाई होटल, रिसोर्ट र पर्व समारोहहरूमा प्रोत्साहन गर्न सकिन्छ।
४. कृषकलाई प्रोत्साहन र सहुलियत — सरकारी तथा गैरसरकारी क्षेत्रबाट बीउ, मल, उपकरण, सिँचाइ र बजारीकरणमा सहयोग पुर्याउनुपर्छ।
५. शिक्षा र चेतनामूलक अभियान — विद्यालय, कलेज र समुदायस्तरमा कोदोको पोषणीय महत्वबारे जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ।
४. निष्कर्ष
कोदो केवल भोक मेटाउने अन्न होइन; यो नेपालको जैविक सम्पदा, आत्मनिर्भर अर्थतन्त्रको आधार र स्वस्थ जीवनशैलीको संकेत हो। राष्ट्रिय कोदो दिवसले हामीलाई हाम्रो मौलिकता सम्झाउने मात्र होइन, दिगो विकासको बाटो देखाउने अवसर पनि दिएको छ। अब हामी सबै मिलेर कोदो खेतीको संरक्षण, विकास र प्रवर्धनमा लाग्न जरुरी छ — जसले नेपालको ग्रामीण जीवन, पोषण सुरक्षा र हरित अर्थतन्त्रमा ऐतिहासिक परिवर्तन ल्याउन सक्छ।
कोदोलाई सम्मान गरौं, समृद्धि तर्फ अघि बढौं।
नेपाली विभाग, गोल्डेन पिक हाइ स्कुल