काठमाडौँ, भदौ २६:
आठौँ MAAF अन्तरविद्यालय बास्केटबल प्रतियोगिता–२०८३ आज गोल्डेन पिक हाइस्कुलको कोर्टमा उद्घाटन समारोहसहित सुरु भएको छ। माफको योजनामा गोल्डेनपिक हाइस्कुलको प्रमुख संयोजन तथा व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगितामा माफका सदस्य १६ वटा विद्यालयका ४४ टोली सहभागी छन्।
उद्घाटन समारोहमा माफका वर्तमान अध्यक्ष रविन दाहाल, गोल्डेन पिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार खत्री, माफका सल्लाहकार तथा बेबिलोन स्कुलका प्रिन्सिपल राजु राई र गोल्डेन पिक स्कुलका प्रधानाध्यापक छत्रमणि राईले संयुक्त रूपमा रेफ्रीलाई बास्केटबल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक सुरुवात गरेका थिए।
सो अवसरमा माफ अध्यक्ष दाहाल र गोल्डेन पिक स्कुल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार खत्रीले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी तथा टोलीलाई शुभकामना दिए। उनीहरूले विद्यालय तहमा बास्केटबल खेलको विकास र प्रवर्द्धनसँगै स्वस्थ प्रतिस्पर्धा तथा खेलभावनाको विकासमा यस्ता प्रतियोगिताको महत्त्व रहेको बताए।
प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १५, सिनियर गल्र्सतर्फ १६ र जुनियर ब्वाइजतर्फ १३ टोली सहभागी छन्। प्रतियोगिता लिग-कम-नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ। प्रत्येक विधाका टोलीलाई चार समूहमा विभाजन गरिएको छ भने प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।
प्रतियोगिताले विद्यालय तहका खेलाडीलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्नुका साथै उनीहरूको बास्केटबल सीप, अनुशासन, समूहकार्य र खेलभावनाको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Share via
Copy link