न रोक्यो तिमीलाई कुनै पदले, न बाँध्यो तिमीलाई कुनै अख्तियारले
न छेक्यो तिमीलाई कुनै नाकाले, न मार्यो तिमीलाई कुनै हतियारले
न छुट्ट्यायौ तिमीले उच्च र निच, न छुट्ट्यायौ तिमीले धर्म र जाति
न छुट्ट्यायौ तिमीले धनी र गरीब, त्रास फैल्यायौ सारा संसारमाथि ।।
आफूलाई भगवान ठान्ने हामी मान्छेलाई पनि आफ्नो ठाउँ देखायौ
आखिर प्रकृति नै सबैभन्दा ठूलो रहेछ भन्ने पाठ सिकायौ
धन सम्पत्ति त हातका मैला रहेछन् भन्ने चिनायौ
असल सम्पति त आखिर आमूल्य जीवन नै रहेछ भन्ने बुझायौ ।।
संसार जित्ने मानिसलाई तिमीले आज घरभित्र लुक्न बाध्य बनायौ
सबैले बिर्सेंको प्रकृतिलाई आज फेरि तिमीले आराध्य बनायौ
आफैलाई बिर्सेंको मानिसलाई आज आफन्तको पनि याद दिलायौ
ओइलिएको यो धरतीमा आज फेरि हरियाली र फूल फुलायौ ।।
तर तिमीले ल्याएको यो कालो बादलमुनि पनि कोही लुक्न भ्याएछ
त्रासदीको यो क्षणमा पनि कतिलाई त खुशीयालीको बहार छाएछ
धर्मको शङ्ख लिइ हिंसा फुक्नेले सुनौलो अवसर पो पाएछ
कात्रोमा पनि कमिसन खानेलाई त ठूलै चाड पो आएछ ।।
त्यसैले जानूभन्दा पहिले अझै केही पाठ तिमीले सिकाउन बाँकी छ
सेवानै ठूलो धर्म हो भन्ने तिमीले बुझाउन बाँकी छ
शक्ति, रूप, धन र सम्पत्तिको घमण्ड अझै तिमीले तोड्न बाँकी छ
संसारभर मानवताको नाता अझै तिमीले जोड्न बाँकी छ ।।
मेघराज आलम
शिक्षक,
गोल्डेन पिक हाइ स्कुल ।