प्रनिश घतानी  

कक्षा–८, गोल्डेन पिक हाइस्कुल, कपन, स्वरस्वतीनगर, काठमाडौं ।

नेपाल सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लकडाउनको घोषणा गरयो । लकडाउनसँगै डर पनि उत्तिकै बढ्न थालेको थियो । अरू धेरैलाई जस्तै मलाई पनि डर लागेको थियो । टेलिभिजनले धमाधम कोरोनाबाट बच्ने सन्देशहरू भन्ने थालेको थियो । एकदुई दिन घरमै बस्दा रमाइलो भयो । तर एक हप्ता घरबाट निस्कन नपाउँदा दिक्क लाग्न थालेको थियो । बाबाममीसँग गाउँ जाऊँ भनें तर उहाँहरूले गाउँभन्दा काठमाडौं नै सुरक्षित छ भनिरहनुभयो ।

मैले लकडाउन सुरुवाती दिनमा केही चित्रहरू कोरें । राम्राराम्रा फिल्महरू पनि हेरें । खाली समयमा भाइबैनीसँग खेलेर समय बित्यो । बहिनी सानै छिन् । लकडाउनले वाक्कदिक्क भएपछि भाइले पनि गाउँ जाने भन्न थालेको थियो । मैले पनि फेरि बाबाममीसँग गाउँ जाऊँ भन्न थालेको थिएँ  ।

एक दिन काठमाडौंमा बसेकाहरूलाई गाउँ लैजाने निर्णय सुनें । बाबाले गाडी बन्दोबस्त गर्नुभयो र गाउँ जाने निधो गरयो । वैशाख ९ गते हामी गाउँतिर लाग्यौं । गाडी निकै प्याक थियो । बाटैभरि गाउँ जानेको लर्काे थियो । भारी बोकेर खाली खुट्टा हिँड्नेहरू पनि प्रशस्तै देखिए ।

काठमाडौंबाट बेलुकीको यात्रा थियो । गाउँ जान पाउँदा धेरै खुसी भएको थिएँ । बाटाभरि निकै रमाइलो यात्राको अनुभूत गरें । लामो यात्रापछि बिहानको ४ बजे सिंगटी बजार पुग्यौं । त्यहीँ हाम्रो चेकजाँच गरियो । त्यसपछि भोर्ले भन्ने ठाउँमा गाडी फेरियो  । खाजा खाएर फेरि यात्रा सुरु भयो । हामी दिउँसो १२ बजे दोलखाको गौरीशंकर गाउँपालिकाको सुरी गाउँको घरमा पुग्यौं ।

लामो समयपछि गाउँ पुग्दा मनमा आनन्द आएको थियो हजुरबुबाहरूसित खुसी साटासाट गरयौ। घरमा एक दिनसम्म आराम गरें गाउँ पुगेको दुई दिनपछि गाउँको दिनचर्या सुरु भयो फेसबुकमा धेरैले ऐंसेलु काफल खाएको फोटो राखेको देखेको थिएँ मलाई कति बेला गाउँ पुगेर जंगल जाने भन्ने भएको थियो   बाबाले सँगै जंगल लैजानुभयो मैले रमाईरमाई जंगलमा ऐंसेलु काफलहरू खाएँ उहाँले गाउँका ठाउँहरू चिनाउनुभयो ।उहाँले सानो छँदाका सम्झनाहरू पनि सुनाउनुभयो ती अनुभवहरू कथा जस्तो लागे पनि मलाई  धेरै रमाइलो लाग्यो

बाबा पनि गाउँमा धेरैपछि गएकोले हजुरबुबालाई सघाउन थाल्नुभयो । मलाई पनि गाउँमा काम गर्न रहर लाग्यो । बाबासँगै काम गर्न थालें । जंगलमा रूख चढ्न र दाउरा काट्न सिकें । भारी बोक्न, घाँस काट्न, गाईवस्तु हेर्न जस्ता धेरै काम सिकें  । गाउँको अर्गानिक स्वाद भैसीको दूधदही पनि चाख्न पाएँ । हजुरबुबासँग लेक पनि घुम्न गएँ ।

मैले साँच्चै प्रकृतिसँग नजिक हुन पाएँ । हामीले पुस्तक पढेकोभन्दा देख्दा अर्काे अनुभव हुँदो रहेछ । मैले चौरीगाई, गाई, भैसी, बाख्रा, ढुकुर, चील, स्याल, जुरेली, सारस, भंगेरा, भ्याकुर लगायतका पशुपन्छीहरू देख्ने अवसर पाएँ । अझ असार महिना गाउँमा धेरै रमाइलो हुँदो रहेछ । खेतबारीमा धान र कोदो रोपाइँ पनि देख्न पाएँ । मैले पनि रोपें । गाउँमै रमाइलोसँग बित्यो । लामो समय गाउँको बसाइ मेरा लागि निकै महत्वपूर्ण रह्यो ।

 

Share via
Copy link